काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाउनुभएको हो ।
नेता आङदेम्बेले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा लैजानुपर्नेमा सरकार ‘झिना–मसिना’ मुद्दामा अल्झिरहेको टिप्पणी गर्नुभयो ।
सरकारसँग पाँच वर्षका लागि प्राप्त स्पष्ट बहुमत भएपनि त्यसको सदुपयोग गरी आम नागरिकको जीवनस्तर उकास्ने दिशामा शासकीय कार्यकुशलताको अभाव देखिएको उहाँको भनाइ छ ।
उहाँले सरकारको पछिल्लो ६ महिनाको गतिविधिलाई ‘संक्रमणकालीन अवस्थाको निरन्तरता’ को संज्ञा दिँदै यसले विकास र अग्रगमनको सपनालाई ‘मृग तृष्णा’ बनाउने खतरा औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले परिवर्तन र सुशासन खोजेका हौं, तर अहिलेको सरकारको क्रियाकलापबाट शासन कुनै निश्चित विधि र सिद्धान्तबाट निर्देशित नभई नेतृत्वको इच्छा र लहडमा चलेको आभास हुन्छ ।’
आङदेम्बेले सरकार सञ्चालनको शैलीमा संस्थागत विधि र परम्पराको उल्लंघन भइरहेको आरोपसमेत लगाउनुभयो । उहाँले राजकीय व्यवहारमा देखिएको असन्तुलन र अनुभवहीनताले गर्दा मुलुकले सही दिशा लिन नसकेको जिकिर गर्नुभयो ।
प्रतिपक्षका तर्फबाट सरकारलाई सुध्रिनका लागि धरातलीय यथार्थको ख्याल गर्न आग्रह गर्दै उहाँले सरकार स्वयंले आफ्नो समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्