Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


भुटानी क्रिकेट टोलीको पोखरा भ्रमणः ‘हिमाली सौन्दर्य र नेपाली आतिथ्यबाट प्रभावित छौँ’


0
Shares

काठमाडाैं । भुटान क्रिकेट टोलीले पहिलोपटक नेपालमा मैत्रीपूर्ण अभ्यास खेलका लागि पोखरा भ्रमण गरेको छ ।

भुटान क्रिकेटका व्यवस्थापक एवं बोर्ड सदस्य मनोज अधिकारीले पोखराको प्राकृतिक सौन्दर्य, विशेषगरी माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाको पृष्ठभूमिमा रहेको क्रिकेट मैदानप्रति आफूहरू निकै प्रभावित भएको बताउनुभएको हो ।

भुटानी टोलीले काठमाडौँलाई छोडेर पोखरालाई आफ्नो मैत्रीपूर्ण भ्रमणको थलो बनाउनुमा यहाँको शान्त वातावरण र विश्वस्तरीय प्राकृतिक दृश्य प्रमुख कारण रहेको अधिकारीले उल्लेख गर्नुभयो । नेपालको क्रिकेट स्तरबाट आफूहरूले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै उहाँले यो भ्रमणले दुई देशबीचको क्रिकेट सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । भुटानी टोलीले प्राप्त गरेको आतिथ्य र स्थानीय मिडिया एवं खेलप्रेमीहरूबाट पाएको मायाप्रति उनले आभार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी आफैँ हिमाली देशबाट आएका हौँ, तर पोखराबाट देखिने हिमालयको दृश्य र यहाँको क्रिकेट मैदानको संयोजन अद्वितीय छ । यो अनुभव हाम्रा लागि स्मरणीय बनेको छ । यो हाम्रो पहिलो र अन्तिम भ्रमण होइन। यहाँको अभ्यास र सिकाइबाट हामी निकै उत्साहित छौँ । म मेरो बोर्डमा यहाँको अनुभवबारे जानकारी दिनेछु र भविष्यमा यस्ता मैत्रीपूर्ण श्रृंखलाहरूलाई निरन्तरता दिनेछौँ ।’

भविष्यमा भुटानले नेपालमा आफ्ना विभिन्न उमेर समूहका टोली तथा महिला क्रिकेट टोलीलाई समेत पठाउने योजना बनाएको छ । पोखराको क्रिकेट मैदानमा भइरहेको यो भ्रमणले दुवै देशका खेलाडीहरूलाई अनुभव आदान–प्रदान गर्ने र दुई देशबीचको खेलकुद सम्बन्धलाई सुमधुर बनाउने लक्ष्य राखेको छ ।