काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानका दुई पाइलटबीच ककपिटमै कुटपिट भएपछि विमानलाई साउदी अरेबियाको तबूक विमानस्थलमा डाइभर्ट गरिएको छ।
फ्लाईदुबईको FZ1073 उडानले आकाशमै आपत्कालीन संकेत पठाएपछि सुरुमा विमान अपहरण भएको आशंका गरिएको थियो। घटनापछि इजरायली अधिकारीहरू उच्च सतर्कतामा आएका थिए भने इजरायली लडाकु विमानसमेत परिचालन गरिएको रिपोर्ट सार्वजनिक भएको थियो।
तर पछिल्लो अनुसन्धानबाट विमान अपहरण नभएको र ककपिटमा पाइलटहरूबीच भएको विवाद तथा झडपका कारण आपत्कालीन अवस्था सिर्जना भएको खुलेको अधिकारीहरूले बताएका छन्।
उडानका क्रममा विमान ३४ हजार फिटको उचाइबाट करिब १६ हजार ६ सय फिटसम्म झरेको थियो। उक्त उचाइ परिवर्तन करिब दुई मिनेटमै भएको बताइएको छ।
विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको जनाइएको छ। केही रिपोर्टका अनुसार विमानमा १७४ जना यात्रु थिए। उनीहरू अहिले साउदी सुरक्षा अधिकारीहरूको निगरानीमा रहेका छन्।
फ्लाईदुबईले विमानमा ‘घटना’ भएको पुष्टि गर्दै त्यसपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको जनाएको छ। घटनाबारे सम्बन्धित अधिकारीहरूसँग सहकार्य भइरहेको कम्पनीको भनाइ छ।
यात्रुहरूलाई तेल अभिभ पुर्याउन अर्को विमान पठाउने तयारी भइरहेको पनि बताइएको छ। घटनाको कारण र पाइलटहरूबीच झडपबारे थप अनुसन्धान भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्