Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


ओखलढुंगामा निरन्तर वर्षा : उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलयको अनुरोध


13
Shares

लिला सुनुवार, ओखलढुङ्गा । ओखलढुङ्गामा निरन्तर वर्षा भइरहेको छ ।

जिल्लामा २४ घण्टा देखि लगातार पानी परि रहेको छ । लगातार वर्षात भएको भए पनि जिल्लामा हाल सम्म कुनै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी टुब राज पोखरेलले बताउनु भएको छ ।

निरन्तरको वर्षाको कारण बाढी वा पहिरोले क्षति पुर्याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ । साथै जिल्लाका सम्पूर्ण कार्यालयहरू तथा स्थानीय तहहरु लाई तयारी अवस्थामा रहन समेत जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले अनुरोध गरेको छ ।

जिल्ला स्थित सरकारी कार्यलय तथा स्थानीय तहहरु लाई आफू मातहत रहेका डोजर, स्काभेटर, गाडी तथा खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरू तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । यसै गरि यही असोज ८ गते देखि ११ गते सम्म अविरल वर्षा हुने नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएकाले उक्त समय अवधिमा टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।

यसै गरि बाढी पहिरो आउन सक्ने स्थानमा बसोवास गर्ने नागरिकहरूलाई चनाखो रहन तथा बाढी पहिरोको जोखिम देखिएमा सुरक्षित स्थानमा जान तथा सम्बन्धित निकाय वा स्थानीय तहमा सूचना दिन अनुरोध गरेको छ ।

जिल्लाका सबै स्थानीय नेहरुलाई आफ्नो आपतकालीन कार्यसञ्चालन केन्द्रलाई ठिक दुरुस्त अवस्थामा राख्न समेत निर्देशन गरेको छ ।