काठमाडौं । रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपले नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहतका लागि १० लाख थाई भाट सहयोग गरेको छ।
टीसीपी ग्रुपले उक्त सहयोग थाई रेडक्रस सोसाइटीमार्फत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको हो। सहयोग रकम विपद् प्रभावित क्षेत्रमा राहत तथा सहयोगका कार्यमा प्रयोग गरिने जनाइएको छ।
नेपालमा सारस बेभरेजेजसँग संयुक्त उद्यम साझेदारीमा कार्यरत टीसीपी ग्रुपले यस सहयोगमार्फत नेपाली समाजप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। सारस बेभरेजेजमार्फत कम्पनीले नेपालमै रेड बुल उत्पादन गर्दै आएको छ, जसले स्थानीय स्तरमा रोजगारी र लगानीमा समेत योगदान पुर्याउँदै आएको छ।
टीसीपी ग्रुपका अन्तर्राष्ट्रिय व्यापार निर्देशक आन्द्रास डोनाउर तथा कर्पोरेट मामिला तथा सञ्चार निर्देशक अर्जारी सुवाङ्गुलले थाई रेडक्रस सोसाइटीलाई सहयोग हस्तान्तरण गरेका थिए। उक्त सहयोग थाई रेडक्रसका कोष सङ्कलन ब्युरोका निर्देशक खान प्रचुआबमोह र उपनिर्देशक जानप्रापा विचिट्चोलचाइले ग्रहण गरेका हुन्।
यस सहयोगले विपद्बाट प्रभावित समुदायलाई राहत पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्