Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


ओखलढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु


156
Shares

शुभकला राई,ओखलढुङ्गा ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित भित्री कच्ची सडक खण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मानेभञ्ज्याङतर्फ आउने क्रममा अक्करभीरमा लु ४ त १६७२ नम्बरको ढुङ्गा लोड गरिएको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र सोही ठाउँका ६२ वर्षीय छविलाल तिमल्सिनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई, सोही ठाउँका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की सकुशल रहेका छन् । सकुशल रहेका चालक राईलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मुको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा नौ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार तथा अनुसन्धान सुरु गरेको छ ।

दुर्घटनाबाट ट्याक्टर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटनास्थल प्रहरी चौकी मानेभञ्ज्याङबाट पाँच किलोमिटर पश्चिम–दक्षिणमा रहेको छ ।