रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोटमा विद्युतकाे करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
आठविसकोट नगरपालिका -१० निवासी हातिराम कुसारीका छोरा १३ वर्षीय कमल जंग कुसारीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार सोमबार बेलुका तीजको नाचगान कार्यक्रम हेर्ने भनेर घरबाट निस्किएका बालकको घरदेखि ५० मिटर टाढा मकै बारीमा रहेको बिजुलीको पोलको करेन्ट लागेर मृत्यु भएको हो ।
घटना बारे आज दिउँसो पत्ता लागेको हो । स्थानीयले बिजुलीको पोलबाट जमिनमा लत्रिएको अवस्थामा शव रहेको भनि प्रहरीलाई खबर गरेका थिए ।
सूचना लगत्तै इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक बिजय चापागाँईको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्