Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


रसुवा बाढीका कारण उत्पादन क्षेत्रमा डेढ खर्ब रूपैयाँकाे क्षति

क्षतिको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ३५ लाख रूपैयाँ लाग्ने प्राधिकरणकाे अनुमान

117
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा यहि भदौ १० आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब ३७ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको जनाएकाे हाे। जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबै भन्दा बढी ९७ प्रतिशत असर पुगेको छ। त्यसैगरी, पशुधनमा ० दशमलव ९६ प्रतिशत, कृषिमा ० दशमलव ७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ० दशमलव ६१ प्रतिशत असर पुगेको हाे।

कृषि क्षेत्रमा एक हजार ८ सय ६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ। जसमध्ये सिँचाइयोग्य जमिन ६९७ दशमलव ०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा १ अर्ब ९ करोड ३० लाख रुपैयाँको क्षति भएको हाे। यसको पुनरुत्थानका लागि एक अर्ब ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ । प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कूल ७१ करोड रुपैयाँको क्षति पुगेको हाे। जसमा पशुपालन र कुखुरा पालन बढी प्रभावित भएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि एक अर्ब ७३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे हाे।

बाढीका कारण बैंकका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको हाे। आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण चार हजार ८ सय व्यवसाय प्रभावित भएका छन् । प्राधिकरणले यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको र यसको पुनरुत्थानका लागि ४५ अर्ब ४५ करोड रुपैयाँ लाग्ने अनुमान गरेकाे जनाएकाे हाे ।

Skip This