Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कयाण श्रेष्ठले नेपालको संविधानमा आधारभूत संरचनागत समस्या रहेको भन्दै संविधानलाई प्रभावकारी र दिगो बनाउन व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘वर्तमान नेपालमा नेवारहरुको स्थिति र नेवार स्वाभिमान’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानमा रहेको संरचनागत सुधारतर्फ संशोधनको बहस केन्द्रित हुनुपर्ने बतउनुभयो । उहाँले नेवार समुदाय जनजातिमध्येको एक जाती मात्र नभई नेपालको विशिष्ट सभ्यताको रुपमा बुझ्नुपर्ने पनि बताउनुभयो । उहाँले दक्षिणबाट आएको हिन्दू संस्कृति र उत्तरबाट आएको तिब्बतीय बौद्ध परम्पराको बीचमा काठमाडौंमा विकसित भएको नेवार सभ्यता दुवै संस्कृतिको मिश्रणबाट बनेको विशिष्ट सभ्यताको रुपमा व्याख्या गर्नुभयो ।

श्रेष्ठले पछिललो समय नेवार संस्कृति र पहिचान भूअतिक्रमणको चपेटामा परेको बताउनुभयो । उहाँले नेवार समुदायको संरक्षणको विषय संस्कृति र पहिचानमा मात्र सीमित नरहेको पनि बताउनुभयो । जीवनयापन, रोजगारी, शिक्षा, शासनमा सहभागिता, बैंकिङ, उद्योग, व्यापार तथा व्यवसायलगायत सम्पूर्ण क्षेत्रमा नेवार समुदायको उपस्थिति र पहुँचको समीक्षा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो संविधानमा धेरै सुधार गर्नुपर्छ । धेरै सुधार गर्नुपर्ने हुनाले फुटकर सुधारको कुरा मलाई गर्न पनि मन लाग्दैन । संविधानमा आधारभूत संरचनागत समस्याहरू छन् । यसलाई दिगो बनाउने हो भने धेरै कुरा गर्नुपर्छ । नेवारहरूलाई एउटा जनजातिको बीचको एउटा जाति भन्न मन लाग्दैन । यो जनजाति होइन । यो त एउटा सभ्यताको एउटा प्रणाली हो । नेवारहरू सानो ठाउँमा बस्छ होला, थोरै जनसङ्ख्या होला, तर यो सभ्यता हो ।

दक्षिणबाट आएको हिन्दू र उत्तरदेखि आएको चाहिँ तिब्बेटियन बुद्धिज्म भनौँ र बीचमा हाम्रो यहाँ हुर्किएको आफ्नै किसिमको बौद्धिक द्वन्दधारा छ । यो छुट्टै सभ्यता हो । भारतमा जस्तो हिन्दू पनि छैन, तिब्बतको जस्तो बुद्धत्व पनि छैन । र नेपाल भनेको, काठमाडौँ भनेको एउटा मेल्टिङ पट हो । उत्तर र दक्षिणको बीचको साँधमा बस्दछ र एउटा दुवै संस्कृतिलाई घुलन गरेर र मिङ्गल गरेर बसेको एउटा भिन्न सभ्यता । यो सानो छ, तर विशाल छ । यो विशालतालाई हामी आफूले कति आकलन गर्यौँ ? लिच्छविकालदेखि, मल्लकालदेखि भएका सम्पदाहरू र उपलब्धिहरू बेवास्ता गरेर नयाँ नयाँ ठूलाठूला दरबारहरू बने, ठूलाठूला घरहरू बने ।

अनि नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्यो । खुम्चिँदै गयो । यो सांस्कृतिक रूपमा, यसको एउटा राजनीतिक रूपमा यसमा एउटा चाप, प्रेसर, हस्तक्षेप बढेर गयो र अहिले आफ्नो पहिचानको अभूतपूर्व लडाइँ यसले लड्नुपर्ने अवस्थामा छ ।

म यसो भनिरहँदाखेरि हामीलाई फेरि विभिन्न जाति जनजातिको बीचमा द्वन्द्वहरू खडा गरौँ भनिरहेको छैन । हामी एउटा राष्ट्रको समष्टिमा हामी पनि हौँ र अरू पनि छन् । त्यो समष्टिभित्र हामी के हौँ ? हामीले आफूले आफूलाई चिनेनौँ भने अरूलाई चिन्न सकिँदै न। हामी असल हुनको लागि अरूप्रति फराकिलो त बन्न सक्छौँ, तर जसले आफूलाई चिनेन त्यसले अरूलाई चिनेको जस्तो गर्न सक्दैन ।

आज हामीलाई यो संस्कृतिको संरक्षण, संस्कृति मात्र भनिरहेको छैन, हामीले जिजीविषा, जीवन, लाइभ्लिहुड, कसरी जिउने कलाको कुरा, शिक्षाको कुरा, रोजगारीको कुरा, शासकीय सहभागिताका कुरा, सम्पूर्ण, बैङ्किङ भन्नुस्, उद्योग व्यापार व्यवसाय, सम्पूर्ण क्षेत्रमा आफ्नो उपस्थिति कहाँनेर छ भनेर खोज्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

उहाँले नेवार समूदायको संस्कृति र सभ्यताको रक्षा गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने कुरामा सबै गम्भीर हुन आवश्यक रहेको पनि बताउनुभयो ।

Skip This