Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना प्रतिवादीविरूद्धकाे भ्रष्टाचार मुद्दाकाे अन्तिम सुनुवाइ सर्‍यो


1.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना प्रतिवादीविरुद्ध दायर भएकाे भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ।

विशेष अदालतमा बिहीबार मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति सारिएको हो । भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइका निम्ति न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलास तय भएको थियो । अदालतले फैसला प्रयोजनका निम्ति यसअघि अन्तिम सुनुवाइको पेशी तय गरी सरकारी वकिल र नेता नेपाल पक्षका कानून व्यवसायीसँग बहस नोट समेत मागेको थियो ।

न्यायाधीश विदुर कोइरालाले मुद्दा हेर्न नमिल्ने भएका कारण अन्तिम सुनुवाइको पेशी पछाडि धकेलिएको हो । इजलासको मागबमोजिम कानून व्यवसायीका तर्फबाट बहस नोट पेश भइसकेको छ । अदालतले सुनुवाइका लागि अर्को पेशी यहि भदौ ३० गतेलाई तय गरिएको जनाएकाे छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०८२ जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । अख्तियारले नेपाललगायत प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग दावी गरेको छ।