Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


अमेरिकी मध्यावधि चुनावपछि इरानसँगको जारी युद्ध अन्त्य हुने राष्ट्रपति ट्रम्पको दावी

इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजेकाे आरोप

988
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगकाे जारी युद्ध अबको दुई महिनापछि नोभेम्बर ३ तारिखमा हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ ।

इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको राष्ट्रपति ट्रम्पले आरोप समेत लगाउनुभएकाे हाे। अमेरिकी आर्थिक तथा सैन्य दबाबका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोयटर्सले जनाएको छ। राष्ट्रपति ट्रम्पले बुधबार राति पत्रकारहरूसँग कुरा गर्दै युद्ध चुनावपछि तत्काल अन्त्य हुने बताउनुभएको हो। इरानले अमेरिकी चुनावमा आफूअनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको छ ।

इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको राष्ट्रपति ट्रम्पको आरोप थियाे। तर उहाँले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन । उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढेको बताउनुभयाे । यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ ।

राष्ट्रपति ट्रम्पले इरानसँग केवल आणविक सम्झौता मात्र गर्न नखोजेको बताउनुभयाे । उहाँका अनुसार भविष्यमा हुने कुनै पनि सम्झौतामा आणविक कार्यक्रम बाहेक अन्य विषय समेत समेटिने छन् । अमेरिकी पक्षले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै आएको छ ।

उता इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दावी गर्दै आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको हाे । राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको समयमा आएको छ । युद्धका कारण तेलको ढुवानी प्रभावित हुँदा विश्वभर इन्धन तथा उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको हाे।