Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौं : शेरबहादुर देउवा


0
Shares

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभएको हो ।

पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ छ । देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गर्नुभयो ।

त्यतिबेला पार्टी एकतावद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उहाँको भनाइ छ । गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराउनु भयो । देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खोल्टीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुप¥यो नि । त्यसकारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ । सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ । रुख चिन्ह र चार तारा झण्डा नेपाली काँग्रेसले पाउनेछ भन्ने विश्वास छ । मलाई विश्वास छ, जित्ने गरी सर्वोच्चले न्याय दिनेछ ।’

देउवाले नेपाली काँग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उहाँले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गर्नुभयो ।

पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गर्नुभयो । अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ । अन्ततः नेपाली काँग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।