Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा बाढी अपडेटः मृत्यु हुनेकाे संख्या १३ सय ५५ पुग्यो, ५ हजार अझै बेपत्ता


0
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो । साेमबार बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणले बाढीमा परी निधन भएकामध्ये सबै भन्दा बढी शव चितवन जिल्लामा फेला परेकाे जनाएकाे हाे। जहाँ ३ सय ६३ जनाको शव फेला परेको हाे ।

त्यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको हाे ।

हालसम्म ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र ५ सय ८९ जना विदेशी नागरिक रहेका हुन् । प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जनाएकाे छ।

उद्धार कार्यमा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको हाे । बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको हाे । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन् । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका हुन् ।

खोज तथा उद्धारका लागि कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका हुन् । भदौ २१ गते मात्रै रसुवामा हेलिकाेप्टर र ट्रक मार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै २९ जना मनोसामाजिक परामर्शदाता पनि खटाएको हाे।

उद्धार र राहतका लागि हालसम्म नेपाली सेनाबाट १ हजार १ सय ५७ पटक र सशस्त्र प्रहरीबाट १ सय ९३ पटक उडानहरू भएका छन् । निजी क्षेत्रका हेलिकप्टरहरूले पनि १ सय २९ पटक उडान भरेका हुन् । विद्युत र सञ्चार सेवातर्फ धादिङमा ९९ दशमलव ८ प्रतिशत, नुवाकोटमा ९६ दशमलव ७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत आपूर्ति सुचारु भएको छ । त्यस्तै, नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावरहरू सञ्चालनमा आइसकेका हुन् ।

सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रभावित १५ वटा पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको हाे। प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। ४५७ वटा ग्यास सिलिन्डर अनुदानका रूपमा पठाइएको हाे।

प्राधिकरणले बाढीमा परी बेपत्ता, घाइते तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमा अध्यावधिक गरिएको जनाएको छ।