काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
उहाँले बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिनुभयो । स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा, डा. शेखर कोईराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो । तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ । यसपटक हामीलाई कुनैपनि चाडपर्वले छुँदैन । सर्वश्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ ।’
विपद्को यस घडीमा यस वर्षको दशैँ, तिहार लगायतका कुनैपनि चाडपर्वमा विश्राम नलिई काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्