Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


भोटेकोशी बाढी : युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह


91
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । 

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनस्र्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराउनुभएको हो ।

नेता लामाकाअनुसार प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ भने धेरै मानिस अझै बेपत्ता छन् । बाढीले गोसाइँकुण्ड र मानसरोवर जाने तीर्थयात्री, भन्सारका कर्मचारी, सवारी चालक तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरूलाई प्रत्यक्ष असर पु¥याएको छ ।

विपद्का कारण ४१ वटा पुलहरू बगेकाले सो क्षेत्रको सडक सञ्जाल (कनेक्टिभिटी) पूर्ण रूपमा विच्छेद भएको लामाले जानकारी दिनुभयो । बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पु¥याउनुका साथै कतिपय मानिसहरू सुरुङभित्रै फसिरहेको र घरबासविहीन भएको उहाँले उल्लेख गर्नुभयो । उद्धार कार्यमा राज्यको संयन्त्र कमजोर देखिएको भन्दै लामाले आवश्यक उपकरण (इक्विपमेन्ट) को अभावले समस्या थपिएको बताउनु भयो । सेना र सशस्त्र प्रहरीसँग पर्याप्त उपकरण नभएका कारण उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ ।

यद्यपि, निजी क्षेत्रबाट तीनवटा एक्साभेटर उपलब्ध गराई दुई जनाको जीवितै उद्धार गरिएको र बाँकीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । तत्कालको समस्या समाधानका लागि प्रदेश सरकारसँगको समन्वयमा पाँचवटा तुइनको व्यवस्था गरिएको र देवीघाटमा ५५ मिटरको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

साथै, निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको र त्रिशूलीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भइसकेको पनि उहाँले उल्लेख गर्नुभयो । नेता लामाले हालसम्म क्षतिको वास्तविक तथ्यांक संकलन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । बाढीका कारण त्रिशूली हाइस्कुलसहित ८–९ वटा विद्यालय विस्थापित भएकाले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको उहाँले बताउनुभयो ।

विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राख्दा उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै सुरक्षित र व्यवस्थित पुनस्र्थापनाको माग गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘पहिले २७ मिनेटमा पुगिने ठाउँमा अहिले ११ घण्टा लाग्ने अवस्था छ । धादिङको फोस्रेटार जोड्ने एउटा पुलबाहेक अन्य सबै संरचना ध्वस्त भएका छन् । अभिभावक गुमाएका टुहुरा बालबालिका र विस्थापित परिवारको सही तथ्यांक संकलन गरी उनीहरूको व्यवस्थापन गर्नु आजको मुख्य चुनौती हो ।’

उहाँले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो । सडक विभाग, सेना र प्रशासनका सबै विङ्सहरूलाई चलायमान बनाउनुपर्ने र आगामी दिनमा यस्ता विपद्को सामना गर्न आवश्यक उपकरणहरू पहिले नै खरिद गरी राख्नुपर्ने उहाँको सुझाव छ ।