Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा


0
Shares

काठमाडाैं । दक्षिण कोरियाले होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा हालसम्म कुनै अन्तिम निर्णय नभएको र यो योजना अझै समीक्षाको क्रममा रहेको स्पष्ट पारेको छ ।

शुक्रवार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले यसबारे जानकारी दिएको हो । सरकारले सम्भावित सैन्य परिचालनका लागि आवश्यक प्रक्रियाहरू अवलम्बन गरिरहेको उल्लेख गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘आफ्नो विद्यमान सैन्य तयारीमा कुनै प्रतिकूल असर नपर्ने गरी दक्षिण कोरियाले होर्मुज जलसन्धिको परिस्थितिमा योगदान पु¥याउने विषयमा विचार गर्न सक्छ ।’

यसअघि शुक्रवार नै दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले उक्त रणनीतिक जलमार्गमा सेना पठाउन सैन्यस्तरमा तयारी भइरहेको खबर सार्वजनिक गरेका थिए । दक्षिण कोरियाली कानूनअनुसार विदेशमा सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्को निर्णय, मन्त्रिपरिषद्को परामर्श र संसद (नेशनल एसेम्बली) को स्वीकृति अनिवार्य हुन्छ । रिपोर्टहरूका अनुसार यो प्रश्ताव यसै महिना संसद्मा पेश हुन सक्ने सम्भावना छ ।

सञ्चारमाध्यमहरूकाअनुसार सरकारको यो पछिल्लो सक्रियताले उसको अघिल्लो अडानमा परिवर्तन आएको सङ्केत गर्दछ । यसअघि दक्षिण कोरियाले अमेरिका र इरानबीचको तनाव अन्त्य भएपछि मात्र सेना पठाउने विषयमा विचार गर्ने बताउँदै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तरको दबाबका कारण दक्षिण कोरियाले तयारी तिब्र पारेको हुनसक्ने विश्लेषण गरिएको छ ।

दक्षिण कोरियाली प्रसारण संस्था ‘एसबीएस’ ले रक्षा मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, प्रस्तावित सैन्य परिचालनमा समुद्री गस्ती विमान, विस्फोटक पदार्थ विसर्जन टोली (ईओडी) र नौसेनाको बन्दोबस्ती सहायता जहाज समावेश हुन सक्नेछन् ।

एक वरिष्ठ सैन्य अधिकारीले सियोलले सम्भावित सैन्य आधार क्षेत्र र सञ्चालन केन्द्रहरूका सम्बन्धमा सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।