काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेशियालाई पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।
बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गरेकाे हाे । मलेशियाले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २१ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमालले नटआउट ४५, ईशान पाण्डेले २० रन बनाएका थिए । मलेशियाका सैयद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले एक-एक विकेट लिएका छन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ३२ ओभर ३ बलमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमायो । मलेशियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४ रन बनाएका थिए । नेपालका करण केसीले चार, ललित राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका छन् ।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेकाे थियाे । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका रहेका छन् । त्यस्तै,समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका हुन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने भएका छन् । प्रतियोगिताको उपाधि विजेताले आगामी वर्ष हुने एशिया कपमा स्थान बनाउने भएकाे हाे।
प्रतियोगिताको फाइनल खेल यहि भदौ २७ गते हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्