काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-४ ज्वालादेवीस्थित एक घरमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार राति स्थानीय इन्द्रबहादुर कठाइतको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको जनाएकाे हाे। आगलागीका कारण करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहीबार बिहान करिब साढे १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हाे।
आगलागीबाट घर तथा भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। पीडित पक्षले लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, चार तोला सुन, एउटा मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामेरा र एउटा कम्प्युटरको पूर्ण सेट लगायतका सामग्री जलेर नष्ट भएकाे बताएकाे हाे।
पीडितले आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेकाे छ। आगलागीमा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको हाे।
प्रहरीले आगलागीपछि पीडित परिवार छिमेकीको घरमा बसेको जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्