Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


बाढी प्रभावित विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा दिन सांसदहरूको माग


0
Shares

काठमाडाैं । रसुवा बाढीमा परी सम्पर्कविहीन भएका तथा ज्यान गुमाएका विदेशी पर्यटकका परिवारलाई नेपालमा आउन र बस्न निशुल्क व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् ।

बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सरकारसँग उक्त माग गरेका हुन् । सांसदहरुले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रभावित पर्यटकका परिवारलाई सहज सूचना दिन तथा आवश्यक सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रभावित विदेशी पर्यटकका परिवारलाई नेपालमा निःशुल्क बसोबास, यातायात र भिसाको व्यवस्था गर्न सरकार तथा निजी क्षेत्रसँग आग्रह गर्नुभयो । विदेशी पर्यटकका मृतक तथा बेपत्ता परिवारलाई लक्षित गरी सरकारले तत्कालै निःशुल्क भिसा र आवश्यक आतिथ्य सेवाको घोषणा गर्नुपर्ने उहाँको भनाई छ ।

यसले विपद्का बेला नेपालले पर्यटकप्रति मानवीयता र आतिथ्यता देखाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रियस्तरमा जाने उहाँले बताउनु भयो । रसुवामा विदेशी तथा नेपाली मृतक र बेपत्ताको स्मरणमा ‘टुरिस्ट मेमोरियल पार्क’ वा स्मारक निर्माण गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । पर्यटक धेरै प्रभावित भएको क्षेत्रमा स्मारक निर्माण गर्दा सम्बन्धित देशसँग नेपालको दीर्घकालीन आत्मीयता कायम गर्न सहयोग पुग्ने उहाँको भनाई छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको विषयका रूपमा उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु, आज । यो दरिद्रता भन्ने पैसामा मात्रै हुँदैन । दरिद्रता भनेको मानसिकतामा हुन्छ । विदेशी पर्यटकको हकमा जो–जो पर्यटकहरु मृत हुनुभएको छ, मिसिङ हुनुभएको छ, ती परिवार जुन–जुन देशका छन्, ती परिवारहरुलाई नेपालमा खान, बस्न उहाँहरुलाई यहाँको यातायातको खर्च फ्री, भिसा फ्री गर्नुपर्छ । जसको शव यहाँ छ, जो मिसिङ छ, र जो उहाँ विदेशबाट यहाँ हुनुहुन्छ, नेपालमा तिमी जुन होटलमा बसेपनि, नेपालमा तिमी जहाँबाट जहाँ जानुपरे पनि, तिमीले जे गर्नुपरे पनि नेपालमा भिसाको लागि तिमीलाई फ्री भन्ने एउटा सन्देश दिउँ । अरुलाई फ्री होइन, प्रभावितलाई फ्रि गर्नुपर्छ । यसले पर्यटक भनेको भगवान हुन् भन्ने कुरा नेपालीहरु मान्दा रहेछन् भन्ने कुराको म्यासेज जान्छ । ठूलो खर्च लाग्दैन त्यसमा । के खर्च लाग्छ ? आज प्रधानमन्त्री राहत कोषमा जो–जोले जति पैसा दिइरहेका छौँ, त्यसको १५ प्रतिशत मात्रै यसको लागि खर्च गर्यौँ भनेदेखि केही गाह्रो छैन ।’

नेपाली काँग्रेसका सांसद सन्दिप रानाले विदेशी पर्यटकका परिवारहरू आफ्ना आफन्तको खोजीका लागि विभिन्न ठाउँमा भौंतारिनुपरेको बताउनुभयो । उहाँले एउटै स्थानबाट सबै सूचना उपलब्ध हुने गरी ‘वन प्वाइन्ट हेल्प डेस्क’ स्थापना गर्न माग गर्नुभयो । हराएका विदेशी पर्यटकसँग सम्बन्धित टुर अपरेटरहरूलाई समेत एकै ठाउँमा बोलाएर समन्वय गर्नुपर्ने उहाँको भनाई छ । टुर अपरेटरहरूले समेत घटनाबारे पर्याप्त सूचना नपाउँदा पीडित परिवार थप आतंकित भएको उहाँले बताउनु भयो ।

उहाँले विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा उपलब्ध गराउनुपर्ने तथा उनीहरू नेपालमा रहँदा होटल, यातायात र सम्बन्धित स्थानमा पुग्न आवश्यक सेवा टुर अपरेटरमार्फत निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न पर्यटन तथा परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई नेपालको वास्तविक अवस्था र उद्धार तथा पुनःस्थापनाका प्रयासबारे जानकारी गराउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विदेशी पर्यटकको जुन परिवार यहाँ खोज्न आउनुभएको छ, उहाँहरु धेरै ठाउँमा भौंतारी राख्नुभएको छ । त्यो भौंतारी रहनुभएको उहाँहरुलाई एउटा वन पोइन्ट हेल्प डेस्क होस्, जसले सबै सूचना एकै ठाउँबाट प्राप्त गरोस् । आफ्नो परिवार हराएको ठाउँ र विशेषगरी जुन मानसरोवर या अन्य ठाउँमा जानुभएका विदेशी पर्यटकहरु हुन्छ, उहाँहरु कुनै न कुनै टुर अपरेटरलाई सम्पर्क गरेर आउनुभएको छ । त्यो टुर अपरेटरहरुले पनि खोजि गर्न सहयोग गर्नुपर्छ । टुर अपरेटरलाई मेरो परिवार हराएको छ भनेर सम्पर्क गर्दा म पनि हेल्पलेस छु, खबर आएपछि तपाईंलाई खबर गर्छु भन्नुभएको छ । त्यसकारणले परिवारहरु अलि प्यानिक हुनुभएको छ । त्यसकारणले एउटै हेल्प डेस्क बनाऔं ।’

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विपद्लाई जलवायु कूटनीति र जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताउनु भयो । उहाँले नेपालसंग अन्तर्राष्ट्रिय तथा क्रस–बोर्डर सूचनाको अभाव देखिएकाले समन्वय गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपालमा पर्यटन प्रर्वद्धनको लागि विदेशी कुटनीतिक नियोग तथा कन्सुलर प्रतिनिधिलाई बोलाएर सरकारले घटनाको अवस्थाबारे जानकारी दिनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय सञ्चारका लागि अंग्रेजी भाषासँगै फ्रेन्च र स्पेनिस भाषामा समेत पछिल्ला अपडेट सार्वजनिक गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले मानसरोवर जाने तीर्थयात्रीलाई लक्षित गर्दै चीनको क्षेत्रीय विमानस्थलसँग समन्वय गरी नेपालबाट नियमित उडान सञ्चालन गर्न सकिएमा त्यसले पर्यटन पुनरुत्थानमा योगदान पुग्ने बताउनु भयो । बाढीमा मृत्यु भएका तथा बेपत्ता विदेशी पर्यटकको पहिचानका लागि डीएनएलगायत प्राविधिक प्रक्रिया प्रभावकारी बनाउनुपर्ने तथा शवको सुरक्षित व्यवस्थापन र विदेशी नागरिकको स्वदेश फिर्ती (रिप्याट्रिएसन) सहज बनाउन विशेष व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, हामीले क्लाइमेट डिप्लोमेसी र क्लाइमेट जस्टिसको बारेमा अलिकति गम्भीर रूपमा छलफल गर्न जरुरी छ । यो सबैको सरोकारको विषय हो र यो अन्तर्राष्ट्रिय विषय पनि हो । त्यस्तै किसिमले हामीले यो अन्तर्राष्ट्रिय र खास गरेर क्रसबोर्डर सूचनाको पनि हामीलाई निकै ठूलो अभाव देखियो । त्यसले गर्दाखेरि यस बारेमा पनि हामी यसले एउटा छलफलको माग गर्छ । सभापतिज्यूको ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु । मुख्य कुरो अहिले रेस्क्यु कै हो, यतिबेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनुभएको छ, हाइड्रोपावरको टनेल भित्रबाट रेक्स्यू हुन सकेको छैन । त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको खोजी गरियोस् । हाम्रो पर्यटन क्षेत्रलाई आत्मविश्वास बढाउने, पुनर्जाग्रित गराउन थुप्रै अन्तर्राष्ट्रिय मेडियाहरू अहिले नेपालमा उपस्थित छन् । उनीहरूलाई हाम्रो पर्यटन मन्त्रालयले हुन्छ, परराष्ट्र मन्त्रालयले हुन्छ, बोलाएर ब्रिफिङ गर्न जरुरी छ र अपडेट दिन जरुरी छ ।’

बैठकमा सांसदहरुले बाढीमा परि वेपत्ता भएकोहरुको खोजी तथा उद्धारमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ग्लोवल वार्मिङ, हिमताल विस्फोट तथा जलवायुजन्य विपद्को जोखिम आगामी दिनमा थप बढ्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विपद् न्युनिकरणको लागी सरकार, निजी क्षेत्र र समग्र नेपाली समाज एकजुट भएर लाग्नुपर्ने उनीहरुको भनाई छ । साथै जलवायु न्याय तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन पनि एकजुट हुनुपर्नेमा उनीहरुले जोड दिए ।