सागर न्यौपाने, स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भुपराज वोस्तीमाथि सार्वजनिक सुनुवाइ नगरेको आरोपमा कालोमोसो छ्यापिएको घटनाले चापाकोटमा राजनीतिक विवाद चर्किएको छ।
स्थानीय युवाहरूले सार्वजनिक सुनुवाइ नगरेको तथा वडा सञ्चालन र योजना छनोटका विषयमा जनप्रतिनिधिबीच पर्याप्त समन्वय नभएको आरोप लगाउँदै वडा अध्यक्ष वोस्तीमाथि कालोमोसो छ्यापेको बताइएको छ।
घटनापछि वडा अध्यक्ष वोस्ती पक्षले भने वडा सदस्य सन्तोष थापामाथि गम्भीर आरोप लगाएको छ। वडा सदस्य थापाले केही युवाहरूलाई परिचालन गरी वडा अध्यक्षमाथि कुटपिट, लछारपछार गर्दै कालोमोसो दलेको दाबी वोस्ती पक्षको छ। घटना राजनीतिक प्रतिशोधका कारण योजनाबद्ध रूपमा गराइएको आरोपसमेत लगाइएको छ।
यता, वडा सदस्य थापाले वडा अध्यक्ष वोस्तीले वडा सदस्यहरूसँग आवश्यक छलफल र सल्लाह नगरी योजना छनोट गर्ने गरेको आरोप लगाएका छन्। वडाको विकास योजना तथा निर्णय प्रक्रियामा जनप्रतिनिधिहरूबीच समन्वय हुनुपर्ने भए पनि वडा अध्यक्षले एकलौटी ढंगले अघि बढेको थापाको दाबी छ।
तर वडा अध्यक्ष वोस्ती पक्षले थापाको दाबीको प्रतिवाद गरेको छ। थापा लामो समयदेखि पोखरामा बस्दै आएको र वडामा हुने छलफल तथा बैठकमा नियमित सहभागी नहुने भन्दै अहिले आएर राजनीतिक नियतले विवाद सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ।
वडा अध्यक्षमाथि सार्वजनिक रूपमा कालोमोसो छ्यापिएको घटनाले स्थानीय तहमा जनप्रतिनिधि र स्थानीयबीचको सम्बन्ध तथा योजना छनोट र सार्वजनिक सुनुवाइको प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।










प्रतिक्रिया दिनुहोस्