Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


अर्थमन्त्री वाग्ले बुझे प्रधानमन्त्री दैवी राहत कोषका लागि ६० करोड बढी रकम

अर्थमन्त्रीमार्फत कूल १ अर्ब ३० करोड ७५ लाख रुपैयाँ बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

0
Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ६० करोड रूपैयाँ भन्दा बढी रकम बुझ्नुभएकाे छ।

विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले ६० करोड २ लाख २० हजार १ सय ६ रुपैयाँ ६२ पैसा राहत कोषमा अर्थमन्त्रीमार्फत बुझाएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा यहि भदौ ११ देखि सहयोग रकम संकलन गर्न थालिएको हो । त्यसयताकै सबै भन्दा बढी रकम सोमबार प्राप्त भएको हो ।

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३ सय २४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री वाग्लेमार्फत हस्तान्तरण गरेका थिए । मन्त्रालयको तथ्यांक अनुसार ४ दिनमा अर्थमन्त्रीमार्फत कूल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६ सय ६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ।

जसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेकाे हाे।