Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रसुवा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको पैदल गस्ती


0
Shares

काठमाडौं । नेपाली सेनाले रसुवा बाढी प्रभावित क्षेत्रमा पैदल गस्ती शुरु गरेको छ।

सर्वसाधरणको अवस्था बुझ्न पैदल गस्ती शुरु गरिएको सेनाले जनाएको हाे। सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका जंगल, एवं डाडाँहरूका साथै खोला र बस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भएको जानकारी गराएकाे छ।

गस्तीका क्रममा स्याफ्रुबेसी इलाकामा राहत तथा राशन वितरणको कार्य, लाङटाङ हाइड्रो इलाकामा रेकी तथा गस्ती समेत सञ्चालन गरिएको सेनाको भनाइ छ । सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र, त्रिशूली र धुन्चेमा हालसम्म २ हजार ६ सय ३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जारी विज्ञप्तिमा भनिएकाे छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी (पूर्व) लगायत नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे हाे।

हालसम्म करिब २३ हजार १ सय ९४ केजी राहत सामग्री धुन्चे लगायत प्रभावित इलाकामा हवाई माध्यमबाट ढुवानी गरिएको सेनाले जनाएको छ।