Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


प्रहरी भन्छ: ‘शवकाे व्यवस्थापन गर्न लागेकाे हाे, अन्त्येष्टि होइन’


0
Shares

काठमाडाैं । सरकारले भोटेकोशी र त्रिशूलीको बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ।

शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको हाे । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म शव बाह्य वातावरणमा रहँदा सड्ने प्रक्रियामा तीव्रता आई पानीका स्रोत लगायत विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ्न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई शव दाहसंस्कार गर्न लागिएको रूपमा बुझ्नु नहुने स्पष्ट पारेको छ । यसलाई भविष्यमा सनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको हाे ।

प्रहरीले निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जिपिएस लोकेसन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण र व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको जनाएको छ ।