सविना अछामे,खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माविका शिक्षक ३९ वर्षीय भानुभक्त राईलाई, कुटपिट गरी मृत्यु भएको घटनामा संलग्नको आरोपमा, स्थानीय ११ जना पक्राउ परेका छन् ।
धार्मिकस्थल सालपा पोखरीको बेसक्याम्प माबु मेलामा गत भदौ ११ गते राती ११ बजेर ४५ मिनेटमा कुटपिट गरी मृत्यु भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पुरानो विवादको निहुमा कुटपिट गरी मृत्यु भएको र उनको शव बाटो छेउमा फेला परेको भन्ने जानकारीपछि घटनास्थल पुगी उक्त घटनामा संलग्नलाई तत्कालै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनास्थल भोजपुरको सालपा सिलिछो गाउँपालिका वडा नं–५ मा पर्छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र पराजुलीले आइतबार जारी गरेको विज्ञप्ती अनुसार केपिलासगढी गाउँपालिका–७ का २१ वर्षीय सागर कोयी राई, २१ वर्षीय प्रतिक राई, २५ वर्षीय निसान राई, २३ वर्षीय सुशिल राई रहेको जनाएका छन् ।
त्यस्तै उक्त ठाउँकै ३२ वर्षीय अम्बर राई, ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीय सुमिता राई, ४३ वर्षीय तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीय चन्द्रकला राई पक्राउ परेका हुन् । उनीहरूको पक्राउपछि अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्