Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


विगतबाट पाठ सिक्न नसक्दा उद्धार तथा राहत वितरणमा राज्यको कमजोरी दोहोरियो : नेता भण्डारी


0
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताउनुभएको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको बताउनुभयो ।

उहाँले जलविद्युत् आयोजनाका टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्न चाहाँदा पनि सरकार सहयोग माग्न हिच्किचाहेको आरोप लगाउनु भयो । उहाँले सरकारको उद्धार तथा राहत वितरण कार्यमा समेत कमजोरी देखिएको बताउनु भयो । उहाँले मुलुक संकटमा रहेको अवस्थामा सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि संघीय सरकारले गति बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विगतका विपद्बाट पाठ सिक्नुपथ्र्यो । सकेनौँ । २०७२ सालमा भूकम्प आउँदाखेरी भारत र चीनबाट मान्छे आएर हामीलाई उद्धार गरेको हो नि । हामीसँग त्यस्तो स्रोत र जनशक्ति छैन । टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्छौँ भन्दा हामी हिच्किचायौँ । अर्को कुरा उद्धार र राहत वितरणमा पनि हामीले कमजोरी देखेका छौँ । अहिले हामी राष्ट्रिय संकटमा छौँ । यस समयमा हामी सबै मिलेर काम गर्नुपर्छ । सरकारले गति बढाउनुपर्छ । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । त्यसकार राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ ।’

उहाँले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुभयो ।