काभ्रे । धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
समाजको दशौं वार्षिकोत्सव तथा छैटौं साधारण सभाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा परशुराम गोदार थापा, सचिवमा खड्गबहादुर (जीवन) श्रेष्ठ, कोषाध्यक्षमा ममता लामा तथा सदस्यहरूमा जीतबहादुर केसी, तुलसीराम रिजाल, अमिन सुतार कार्की, अम्बिका हुमागाईं र राजेन्द्र शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले संस्थालाई सबै सदस्यको साझा थलोका रूपमा अघि बढाउँदै विगतमा सञ्चालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । संस्थाको उद्देश्य, भावना र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सबैलाई समेट्दै अघि बढ्ने उहाँले बताउनुभयाे ।
अध्यक्ष तिमल्सिनाले पछिल्लो समय देशमा आएको विपद्का कारण नागरिकले भोग्नुपरेको पीडाप्रति समाज संवेदनशील रहेको बताउँदै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिमा संस्थाका सदस्यले आफ्नो क्षमताअनुसार आर्थिक, सामाजिक तथा भौतिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयाे ।
उहाँले विपद्को समयमा सामाजिक संस्था र नागरिकको भूमिका अझ महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री उद्धार कोषमा स्वेच्छिक सहयोग गर्नसमेत सदस्यहरुलाई आह्वान समेत गर्नुभयाे ।









प्रतिक्रिया दिनुहोस्