काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २ सय ६१ जनाको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डले बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २ सय ६१ विदेशी पर्यटकको उद्धार गरिएको जनाएकाे हो । बोर्डले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २ सय ६१ पर्यटकको उद्धार गरिएको जानकारी दिएकाे छ।
उद्धार गरिएका पर्यटकमध्ये भारतका १ सय ६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका हुन् ।
त्यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३ सय २० पर्यटक सम्पर्कविहीन भएको बोर्डले जानकारी गराएकाे हाे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।
बोर्डले घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्