काठमाडाैं । मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार न्युज एजेन्सी नेपालसँग कुरा यसबारे जानकारी दिनुभएको हो । प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् ।
यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ । यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन् ।
उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्लेले हालसम्म २ हजार ३ सय १ जनाको सफल उद्धार गरिएको जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये १ हजार ५ सय ६ पुरुष र ७९५ महिला रहेका छन् । विपद् प्रभावितहरूका लागि नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ करिव १ हजार व्यक्तिले आश्रय लिइरहेका छन् । धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरिएको भएपनि हाल त्यहाँ कोही नरहेको प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापन र खोजी कार्यलाई तिब्रता दिन प्रहरीले विभिन्न विशेष टोलीहरू परिचालन गरेको छ । प्रवक्ता काफ्लेकाअनुसार गत १० गतेदेखि नै २२ जनाको मेडिकल टोली कार्यक्षेत्रमा खटिएको छ । खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा ड्रोन र ६ जना अपरेटर सहितको टोली परिचालन गरिएको छ भने शनिवार थप ड्रोन र विपद् व्यवस्थापन टोली रसुवातर्फ पठाइएको छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको अद्यावधिक विवरण हेर्दा ६६९ वटा शव फेला परेको अवस्था छ । जसमा महिला १४८, पुरुष २६८, बालिका २२, बालक २० र आंशिक अङ्ग २११ गरी जम्मा ६६९ शव फेला परेका छन् । तीमध्ये २० वटा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको अवस्था छ । बेपत्ताको विवरणमा स्वदेशी पुरुष १,५९१ र महिला २६४ गरी जम्मा १,८५५ जना हुनुहुन्छ। त्यसैगरी, विदेशी पुरुष २२३ र महिला ३०० गरी ५२३ जना हुनुहुन्छ । यसरी बेपत्ताको कुल संख्या २,३७८ पुगेको छ । घाइते उद्धारको हकमा २,३०१ जना रहेका छन् । जसमा पुरुष १,५०६ र महिला ७९५ जना छन् । होल्डिङ सेन्टरमा मानिसहरू राखिएको अवस्थाको कुरा गर्दा अहिले नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर छन्, जहाँ १,००० जना रहेका छन् । धादिङमा पनि होल्डिङ सेन्टर रहेको छ, तर त्यहाँ अहिले मानिसहरू छैनन् । खासगरी, अहिले हामीले २२ जनाको मेडिकल टिम फिल्डमा खटाएको अवस्था छ । घटना घटेलगत्तै, १० गतेदेखि नै हामीले मेडिकल टिम त्यहाँ पठाएका हौँ । ड्रोनसहितको खोज तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको अवस्था छ। प्रहरी डगसहितको खोज तथा उद्धार टोली पनि परिचालन गरिएको छ । कानुनी सहायता तथा मुचुल्का लेखनका लागि टोलीहरू परिचालन गरिएको छ । शव सङ्कलन, पहिचान तथा व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ । हामीले ७ वटा ड्रोनसहित ६ जना अपरेटरलाई पठाएका छौँ । आज पनि थप ड्रोनसहितका टोलीहरू पठाएका छौँ। विपद् व्यवस्थापनका टोलीहरू पनि परिचालन गरेका छौँ । विपद् व्यवस्थापनको टोली आज रसुवाका लागि पनि गएको अवस्था छ ।’
खोजी तथा उद्धार कार्यमा तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ । साथै, शव सङ्कलन, पहिचान, कानूनीसहायता तथा मुचुल्का लेखनका लागि छुट्टाछुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्