Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ढ्वाङकुम चाँड रौनक


0
Shares

शुभकला राई, ओखलढुङ्गा । ओखलढुङ्गाका वाम्बुले राई समुदायले आफ्नो मौलिक महान चाड ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् ।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई वस्तीहरूमा देखिएको छ । विशेषगरि वाम्बुले राई समुदायले बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा यो चाड धुमधामका साथ मनाउने गर्छन् ।

वर्षेबाली पाकिसकेपछि पहिला प्रकृति र पितृलाई चढाउनुपर्छ भन्ने मान्यता अनुसार कुल देवता लिब्जु उपोको सामाथानमा विशेष पूजाआजा गर्ने चलन रहेको छ । वाम्बुले राई समुदायले शिशी, सिकारी, बुलु र ढ्वाङकुर्मो नाक्सोमार्फत प्रकृति र पितृलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायतका वस्तु चढाउने गर्छन् ।

हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । ढ्वाङकुम चाडकै अवसरमा यसवर्ष ३ दिने ढ्वाङकुम महोत्सव समेत आयोजना गरिएको छ । ढ्वाङ्कुम चाडलाई अझ वृहत र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष कल्याण राईले जानकारी दिनुभयो ।