काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत सेवा नियमित राख्न सफल भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत सेवा सञ्चालनमा राखेको समेत बताउनुभएकाे हाे। कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनकाे बारेमा जानकारी लिनुभएकाे थियाे। सोही क्रममा उहाँले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत सेवा पुनःसञ्चालन भएको बताउनुभएकाे छ। रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिनुभयाे ।
प्राधिकरणका अनुसार बुधबार साँझ विद्युतको उच्चतम माग दुई हजार ९ सय ३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८ सय ९१ मेगावाटमात्रै रहेको थियो । त्यसमध्ये काठमाडौं उपत्यकाको माग बिहीबार ५ सय ७८ मेगावाट र बुधबार ५ सय ९० मेगावाट रहेको थियो । प्राधिकरणले बुधबार ६२ मेगावाट र बिहीबार दुई मेगावाटमात्र विद्युत् आयात गरिएको जनाएकाे छ।
प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयाे।चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट र बालाजु-त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ।









प्रतिक्रिया दिनुहोस्