Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज


0
Shares

काठमाडौं ।
नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ।

बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध भएको आपूर्ति पुनःस्थापित गर्न प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् उपलब्ध गराएको हो।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार काठमाडौंको चपली सबस्टेसनबाट २ मेगावाट, सिन्धुपाल्चोकको इन्द्रावतीबाट १ मेगावाट, समुन्द्रटार सबस्टेसन नजिकै रहेको तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु सबस्टेसनदेखि त्रिशूलीसम्मको प्रणालीमार्फत थप २ मेगावाट विद्युत् नुवाकोटमा पठाइएको छ।

श्रेष्ठले हाल पठाइएको विद्युतले नुवाकोटको तत्कालीन माग धान्न सक्ने बताउनुभयो। सामान्य अवस्थामा जिल्लामा करिब १० मेगावाट विद्युत् खपत हुने गरेको भए पनि अहिले करिब ७ मेगावाट आपूर्ति भएपछि अस्पताल, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालनमा तत्काल समस्या नहुने उहाँको भनाइ छ।

विद्युतको माग क्रमशः बढ्दै गएमा थप आपूर्ति गर्न सकिने गरी प्राधिकरणले आवश्यक तयारीसमेत गरेको जनाएको छ। बाढीका कारण विद्युत गृहहरूमा क्षति हुँदा १० प्रतिशतभन्दा बढी विद्युत प्रणालीबाट बाहिर हुँदा विद्युतको माग व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको भएपनि नेपाल विद्युत प्राधिकरणले देशभर नै विद्युत आपूर्ति प्रणालीलाई स्थिर र नियमित राख्न सफल भएको श्रेष्ठले बताउनुभयो।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा वैकल्पिक प्रणालीबाट आपूर्ति विस्तार गर्ने कामलाई प्राधिकरणले निरन्तरता दिएको छ।