Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पहिरोले नदी थुनिएर केरुङ क्षेत्रमा नयाँ ताल बनेको चिनियाँ दाबी


0
Shares

काठमाडौं ।
चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेको दाबी चिनियाँ पक्षले गरेको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले पहिरोका कारण केरुङ क्षेत्रमा नयाँ ताल बनेकाले ठूलो विपद्को जोखिम बढेको जनाएका छन् । त्यस क्षेत्रमा अबका तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान रहेको पनि जनाइएको छ ।

चीनको राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले सार्वजनिक गरेको पछिल्लो ‘ड्रोन फुटेज’ मा अघिल्लो पहिरोले बनाएको भूभागमा नयाँ ताल बनिरहेको देखाइएको छ । केरुङ नाकानजिकै सीमाको नेपालतर्फ बनेको यो बाँधयुक्त ताल निरन्तर फैलिरहेको दाबी सीसीटीभीले गरेको छ ।

उक्त तालमा हाल करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी ‘ओभरफ्लो’ हुन थालिसकेको पनि उक्त टेलिभिजनले उल्लेख गरेको छ ।

अबका तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने प्रक्षेपण पनि गरिएको छ । चिनियाँ जनसेनाका स्थानीय कमान्डर चेन सीलाई उद्धृत गर्दै सीसीटीभीले पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सैन्य टोलीलाई कमान्ड सेन्टरमा तयारी अवस्थामा राखिएको जनाएको छ ।