काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) बाट उत्पन्न संकटको सामना गर्न नेपाल सरकारसँग सहकार्य गर्न संयुक्त राष्ट्रसंघ तथा मातहतका निकायहरूले तत्परता देखाएका छन्।
संयुक्त राष्ट्रसंघ (यूएन), विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र युनिसेफका प्रतिनिधिहरूले गृहमन्त्री सुदन गुरुङ तथा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल गरेका हुन्।
भेटमा राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूले तत्काल आवश्यकताका आधारमा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका छन्। सरकारबाट प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताबारे जानकारी प्राप्त भएपछि सोहीअनुसार सहयोग परिचालन गर्न सकिने उनीहरूले बताएका छन्।
छलफलका क्रममा उनीहरूले भारत र चीनबाट नेपाललाई उपलब्ध भइरहेको तथा उपलब्ध हुने राहत सामग्री र अन्य सहयोगबारे जानकारी गराउन सरकारलाई आग्रह गरेका छन्। एउटै प्रकृतिको सहायता दोहोरिन नदिन र आवश्यक क्षेत्रमा स्रोत परिचालन गर्न यस्तो समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो।
सरकारले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी अन्तर्राष्ट्रिय साझेदार तथा मित्रराष्ट्रबाट प्राप्त हुने सहयोगलाई समन्वयात्मक ढंगले परिचालन गर्ने विषयमा छलफल भएको छ।
बाढीबाट प्रभावित नागरिकसम्म आवश्यक राहत छिटो पुर्याउने, स्रोतको दोहोरोपन रोक्ने र उपलब्ध सहयोगलाई आवश्यकताका आधारमा प्रभावकारी रूपमा परिचालन गर्ने विषयलाई भेटमा प्राथमिकता दिइएको थियो।









प्रतिक्रिया दिनुहोस्