रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युतमा कर लगाउने नीति पूर्ण रूपमा गलत भएको बताउनुभएको छ।
पार्टीको सङ्गठन निर्माण तथा विद्युतमा लगाइएको कर विरुद्ध हस्ताक्षर अभियानका क्रममा गृह जिल्ला रामेछाप आउनु भएका अध्यक्ष घिसिङले नेपाल विद्युतमा आत्मनिर्भर भइसकेको अवस्थामा कर लगाएर उपभोग निरुत्साहित गर्न खोजिएको आरोप लगाउनुभयो।
पत्रकारहरूसँगको कुराकानीमा घिसिङले हाल छिमेकी मुलुकहरू भारत र बङ्गलादेशमा विद्युत निर्यात गर्दा पनि नेपालमा दैनिक करिब १ हजार मेगावाट विद्युत खेर गइरहेको जानकारी दिनुभयो। यस्तो अवस्थामा स्वदेशी खपत र विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै सर्वसाधारणले प्रयोग गर्ने बिजुली तथा विद्युतीय सामग्रीमा कर वृद्धि गर्नु सरकारको गैर जिम्मेवार कदम भएको उहाँको भनाइ थियो।
घिसिङले २०७२ सालसम्म देशमा जम्मा ८ सय मेगावाट विद्युत उत्पादन हुने गरेकोमा अहिले बढेर करिब ५ हजार मेगावाट पुगेको स्पष्ट पार्नुभयो। ग्यास र डिजेलजस्ता आयातित इन्धनको विकल्पमा स्वदेशी विद्युतको प्रयोग बढाउन सके यसैले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने उहाँले दाबी गर्नुभयो।
सरकारले जनतालाई राहत दिनुको साटो उल्टै विद्युतीय सामान र उपभोगमा कर बढाएर सर्वसाधारणमाथि भार थपेको भन्दै उहाँले उक्त नीति तत्काल सच्याउन माग गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्