काठमाडाैं । दाङकाे तुलसीपुरस्थित एक पेट्रोल पम्पको काउन्टरमा आगलागी हुँदा एक जना कर्मचारी घाइते भएका छन्।
घाइते हुनेमा तुलसी पेट्रोल पम्पका म्यानेजर तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४२ वर्षीय हुकुम भण्डारी रहेका छन्।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयकाअनुसार भण्डारीको हातखुट्टामा सामान्य जलन भए पनि जलनको प्रकृति हेर्दा थप उपचार आवश्यक देखिएपछि काठमाडौं पठाइएकाे छ । घाइते भण्डारीका परिवारका सदस्यसमेत उनलाई काठमाडौं लैजान बाँकेको नेपालगन्जस्थित विमानस्थल पुगेका छन्।
प्रहरीका अनुसार शनिबार बिहान ६ बज्नु अघि रा १ ख २५५८ नम्बरको ट्याङ्करले पेट्रोल पम्पमा पेट्रोल खन्याइरहेको थियो। त्यही समयमा पेट्रोल पम्पको काउन्टरभित्र पूजाका लागि अगरबत्ती बालिएको थियो। ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा निस्किएको पेट्रोलको लप्को काउन्टरभित्र बालिएको अगरबत्तीको आगोमा पुगेपछि अचानक आगो सल्किएको प्रहरीले जनाएको छ।
त्यसै क्रममा काउन्टरमा प्रवेश गरेका म्यानेजर भण्डारी आगलागीमा परेर घाइते भएका हुन्। आगलागीमा परेका भण्डारीले भने काउन्टरमा कसरी आगो सल्कियो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। काउन्टरमा लागेको आगो तत्काल नियन्त्रणमा आएको र आगलागी ठूलो रूपमा फैलिन नपाउँदा पेट्रोल पम्पमा हुन सक्ने ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्