ओखलढुंगा। ओखलढुंगाको रुम्जटारमा चल्दै आएको अर्मपर्म अर्थात श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै रहेकाे छ । खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी भाइचारा र श्रम संस्कृतिको रूपमा अर्मपर्मलाई निरन्तरता दिइरहेका हुन् ।

गीत गाएको देखाउने सुरुमा ओखलढुंगाको रुम्जाटारका पाखापखेरामा गुञ्जने यस्ता मौलिक पर्मेली गीत वर्षायामको खेतीपाती सिजनमा सुनिने गर्छ । प्रविधिको तीव्र विकास, बसाइसराइ, रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण देशका अधिकांश ग्रामीण भू-भागमा परम्परागत अर्मपर्म घट्दै गए पनि ओखलढुंगाको पर्यटकीय तथा ऐतिहासिक बस्ती रुम्जटारमा भने यो पर्मेली परम्पराको मौलिक संस्कृति अझै पनि उत्तिकै जीवन्त रहेको हाे ।

पर्मेली परम्परालाई अहिले पनि यहाँका स्थानीय किसानले निरन्तरता दिइरहेका छन् । गाउँमा २५ देखि ३० जनासम्मको सानो-ठूलो हुल तथा समूह बनाएर आलोपालो एकअर्काको मेलो खन्ने र रोप्ने काम नै पर्मेली परम्परा हो । पैसामा ज्याला मजदुरी गर्नु भन्दा आफ्नै छरछिमेक, नातागोता र साथीभाइ मिलेर पाखुरी साट्दै एक-अर्काको खेतीपाती सकाउने यो परिपाटीले कृषि कार्यलाई निकै सहज र रमाइलो बनाएको किसानहरु बताउँछन् ।

असारको हिलो मेलो होस् वा साउने कोदो रोप्ने चटारो, रुम्जटारका चेलीबेटी र माइतीहरू एकाबिहानै उत्साहका साथ मेलोमा जुट्ने गर्छन् । समूहको नियम अनुसार पुरुष माइतीहरूले बारी खनिसकेपछि चेलीबेटीहरूले साँझसम्म पर्मको रोपाईं सम्हाल्छन् । काम गर्दाको थकान मेट्नका लागि पर्मेली भाकाका गीत गाउने, हाँसीमजाक गर्ने र नाच्ने गरिन्छ । जसले कामको बोझ घटाउने मात्र नभई छरछिमेक र आफन्तबीचको आत्मीयतालाई अझ कसिलो बनाएको देखिएकाे हाे ।

यहाँको अर्मपर्म केवल खेतबारीमा पाखुरी साट्ने माध्यम मात्र नभई माइती र चेलीबेटीबीचको साँस्कृतिक सम्बन्ध र सम्मान दर्शाउने एउटा पवित्र पर्व जस्तै बनेको हाे । कुनै परिवारमा बिरामी तथा दुःखद् घटना परेर काम रोकिएमा सिङ्गो हुल नै गएर नि:शुल्क सहयोग गर्ने र मेलो सकिदिने नियम समेत पर्मेली हुलले अपनाउँदै आएका छन् । यस्ता हुल रुम्जाटारभरी १५-२० वटा रहेको यहाँका स्थानीयहरु बताउँछन् ।
रुम्जटारबासीको यो मौलिक श्रम साटासाट गर्ने पर्मेली परम्पराले आधुनिक समाजका लागि समेत सामाजिक एकता र सहकार्यको लोभ लाग्दो सन्देश दिएको देखिएकाे छ।
विस्तृत रूपमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्