Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


तीन महिने बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

भारत लैजान प्लेन टिकट काटिसकेका आफन्त नर्भिकमै सेवा पाउँदा खुसी

936
Shares

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।

नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ९ पेटको तल्लो भाग०मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।

उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न हुनुहुन्थ्यो । ‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भन्नुभयो, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ ।’

बालकका आफन्तले साउन ३१ गते आइतबार नर्भिकमा उपचारका लागि ल्याएका थिए । चिकित्सकको टोलीले सोही दिन करिब एक घण्टा १५ मिनेट लगाएर बालकको पेटमा अड्किएको पिन निकाल्न सफल भएको बताएका छन् । पिन निकालेपछि बालकलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको थियो ।

बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले पनि पिन खाएको थाहा पाएकी थिइन् ।

बालकले हेयरपिन खाएको पाँचदिन सम्म पिन आफै दिसामार्फत निस्किन्छ भनेर उनीहरुले चिकित्सकसँग परामर्श मात्रै लिएका थिए । तर पाँचदिन सम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानिय अस्पताल पुगेका थिए ।

स्थानिय अस्पतालले काठमाडौं रेफर गरेपछि उनीहरु रौतहटबाट प्लेनमार्फत काठमाडौंको एक अस्पतालमा आइपुगे । र जाँच गर्दा बच्चाको पेटको पिन अड्किएर बसेको देखिएको थियो । उक्त अस्पतालले उपचारका लागि भारत जानुपर्ने र नेपालमा उपचार नहुने भनेपछि उनीहरुले प्लेन टिकट समेत काटिसकेका थिए । तर आफन्तमार्फत नर्भिकमा उपचार हुने थाहा पाएपछि उनीहरु नर्भिक आए र डाक्टर अग्रवालसँग सम्पर्क गरेका थिए ।

‘हामीकहाँ उपचारका लागि आउँदा बालकका आमाबुबा निकै आत्तिनुभएको थियो । अर्को अस्पतालबाट उपचारका लागि भारत जान सिफारिस भएको रहेछ ।’ डा अग्रवालले भन्नुभयो, ‘यस्तो केसमा तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ, त्यसैले भारत जान भनिएको होला, तर नर्भिकमा उच्चप्रविधि र चिकित्सकको ठूलो टोली छ, हामीले नर्भिकमै बालकको उपचार सफलतापूर्वक गर्‍यौं।’

भारत लैजान प्लेन टिकट समेत काटिसकेका उनीहरु नर्भिकमै उपचार सफल भएपछि खुसी हुनुभयो । ‘भारत लैजान प्लेन टिकट नै काटिसकेका थियौ, नर्भिकमै उपचार हुँदा धेरै खुसी लागेको छ, बालकका ठूलोबुबाले भन्नुभयो, ‘बाबु अहिले ठिक छ, हामी प्लेन टिकट फिर्ता गरेर घर फर्कियौं ।’