Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


सर्वोच्चको परमादेशपछि जन आस्थाका पत्रकार किशोर श्रेष्ठ रिहा

विरोध र आलोचनाको स्वर दबाउन सरकारले आफूलाई पक्राउ गरेर गलाउन खोजेकाे आराेप

260
Shares

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि जन आस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ सोमबार राति रिहा हुनुभएकाे छ।

रिहा भएपछि श्रेष्ठले विरोध र आलोचनाको स्वर दबाउन सरकारले आफूलाई पक्राउ गरेर गलाउन खोजिएको आराेप लगाउनुभएकाे हाे। श्रेष्ठले आफू हिरासतमा रहँदा कानून व्यवसायीसँग समेत भेट्न नदिइएको गुनासो समेत गर्नुभयाे। उहाँले पछिल्लो घटनालाई आफूले लेख्दै आएको समाचार र आलोचनात्मक पत्रकारितामाथिको दबाबका रूपमा व्याख्या गर्नुभएकाे छ।

यसअघि श्रेष्ठविरुद्ध जन आस्थामा प्रकाशित एक सामग्रीलाई लिएर वैयक्तिक गोपनीयता उल्लङ्घनको जाहेरी परेको थियो। सोही आधारमा उहाँलाई पक्राउ गरिएको थियो। तर सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राखिरहनुपर्ने अवस्था नदेखिएको भन्दै उहाँलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

अदालतले सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा आफैँ सार्वजनिक गरेको सामग्री सञ्चारमाध्यमले प्रकाशन गरेको विषयलाई मात्र आधार बनाएर फौजदारी कसुरको रूप दिन नमिल्ने व्याख्या समेत गरेको छ। प्रहरीले प्रधान सम्पादक श्रेष्ठलाई गत बुधबार राति निवासबाटै पक्राउ गरेकाे थियाे ।