Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ


182
Shares

काठमाडौँ ।

नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बज्राचार्यको साथबाट अमेरिकी डलर चार हजार ३०० तथा पाण्डेको साथबाट पनि सोही बराबरको डलर बरामद भएको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद मुद्रासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।