काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ ।
सिंहदरबारमा प्रतिनिधिसभाको बैठक साेमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेकाे छ । सभामुख डीपी अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे ।
महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएकाे छ। महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे हाे ।
साथै बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ।

यसैबीच, राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुहुने सचिवालयले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्