काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताउनुभएको छ ।
आइतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेलेल पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको बताउनुभयो ।
उहाँले वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा प्रभावकारी काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले नेपालको श्रमशक्तिको ठूलो हिस्सा कृषिमा निर्भर रहेपनि कृषिमा संलग्न परिवारका शिक्षित युवा कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको पनि बताउनु भयो । कृषिमार्फत रोजगारी सिर्जना गर्ने कार्यमा शिक्षित युवाको पर्याप्त संलग्नता हुन नसक्दा उनीहरूको असन्तुष्टि वैदेशिक पलायन र राज्यविरुद्धको आक्रोशमा परिणत भएको महासचिव पोखरेलको भनाइ छ । उहाँले मुलुकको वर्तमान संकटको एउटा प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि रहेको बताउनु भयो । पार्टीको समग्रतामा पुनर्गठन आजको आवश्यकता भएको पनि बताउनु भयो । उहाँले वामपन्थी कार्यकर्तामा उत्पन्न भएको निराशालाई उत्साह र गतिशीलतामा बदल्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिष्ट जनमत होला । पार्टी सदस्य र उसको निकटको सदस्य आधारित जनमत बाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ । त्यसअर्थ अहिले हामीले आधारभुत वर्ग र समूदायबाट पनि टुटेको अवस्थामा छौँ । आधारभूत वर्ग र समूदायबाट हामी किन टुट्यौँ ? भन्ने कुराको सन्दर्भमा कुरा गर्दाखेरी मेरो बुझाई के कुरामा छ त भन्दाखेरी हामी पूर्वाधार विकासमा बढी केन्द्रित भयौँ । सामाजिक विकास र सामाजिक न्यायका मुद्दामा खासगरी शिक्षा र स्वास्थ्य र रोजगारीको प्रत्याभुतिको सम्बन्धमा हामी प्रभावकारी हुन सकेनौँ । मुलुकको अहिलेको संकटको कारण के हो त ? भन्दाखेरी पढेलेखेको पुस्ता, नेपालको श्रमशक्तिको सबभन्दा ठूलो हिस्सा कृषिमा संलग्न थियो । कृषिमा झण्डै ७० प्रतिशतको निरभर्ता थियो । र कृषिलाई पेसा मान्ने समूदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन । त्यो के भयो त भन्दाखेरी शैक्षिक बेरोजगारको रुपमा समाजमा उपस्थितभयो ।
जसले राजगारी दिनसक्दछ वा काम दिन सक्दछ त्यसमा उनीहरुको संलग्नता भएन । र उसले आफूलाई शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो ।’ उहाँले वामपन्थी दलहरुले अगामी दिनमा अघि बढ्नको लागि जनतासँगको सम्बन्ध बलियो र सुदृढ बनाउन जरुरी रहेको पनि बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्