Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


वर्तमान सरकार ‘भवितव्य’ को उपजः अध्यक्ष ओली

राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन

104
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिनुभएको छ ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गर्नुभएको हो । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्नुभयो । उहाँले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दावी गर्नुभएकाे छ।

अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाउनुभयो। आफू लगायत नेपाली कांग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भइरहेको उहाँको भनाइ छ। सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित विभिन्न क्षेत्रमाथि अंकुश लगाउन खोजेको टिप्पणी उहाँको थियाे ।

सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै अध्यक्ष ओलीले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ। सरकारले गरिरहेका ‘उपद्रव’ बाट आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।