Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सरकारकाे कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख: अध्यक्ष ओली

नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको टिप्पणी

156
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनुभएको छ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको हो । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गर्नुभयो । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको टिप्पणी गर्नुभएकाे छ। अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर गर्नुभएकाे छ। सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको बताउनुभयाे। उहाँले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्नुभएकाे छ।

अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उहाँले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाउनुभयो । संविधानको रक्षाका विषयमा अध्यक्ष ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताउनुभएकाे छ।

अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिनुभयो।