काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकाहरूलाई पार्टी छाेड्न चेतावनी दिनुभएकाे छ।
इलाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै यस्तो चेतावनी दिनुभएकाे हाे। उहाँले पार्टीको विरोध गरेर सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने र पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगाको काम बन्द गर्न चेतावनी दिनुभएकाे छ। यस्ता गतिविधि नरोकिए अनुशासनको कारबाही हुने उहाँले चेतावनी दिनुभयाे ।
उहाँले भन्नुभयाे,- ‘पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नु पर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ। पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ। सम्झाउँदा पनि नमान्नेलाई विधि र विधान अनुसार कारबाही गरिन्छ। २८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो । पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ। साथीहरूलाई इमानदार बनाउनु छ।’
अध्यक्ष ओलीले गत फागुन २१ गतेको निर्वाचनमा एमालेको भोट कम भएको विषय गम्भीर रहेको समेत बताउनुभयाे। पार्टी सदस्य धेरै हुने तर भोट कम हुने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँको जाेड छ ।









प्रतिक्रिया दिनुहोस्