काठमाडाैं । नेपाली काँग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आयोजित नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले निर्वाचनमा पराजित भएकाहरूले अरुमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो । नेता खड्काले पार्टी पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उहाँले कुनैपनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताउनुभयो ।
उहाँले पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले काँग्रेसलाई कमजोर बनाएको भन्दै यस्तो गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पु¥याउन मुख्य भुमिका खेलेको आरोप लगाउनु भयो । पार्टीभित्रको विवादले मुलुकलाई समेत घाटा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ । काँग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्नेकुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’
उहाँले अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै आगामी पाँच वर्षसम्म सांगठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिनुभयो । नेता खड्काले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रह समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्