काठमाडाैं । नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नेता चौधरीले पार्टीको गौरवमय इतिहास र वर्तमान सांगठनिक यथार्थबीच ठुलो खाडल देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
केन्द्रदेखि वडा तहसम्म पार्टी संगठन गुटबन्दी, भागबण्डा र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभयो । नेता चौधरीले गत वर्षको भदौ २३ र २४ गते राजधानीमा भएका घटनाहरूको आलोचना गर्नुभयो । सुशासन र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनलाई केही तत्वहरूले भड्काएर हिंसात्मक बनाएको उहाँको दाबी छ ।
सो क्रममा भदौ २४ गते पार्टी तत्कालीन सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमण तथा पार्टीका ४८ वटा कार्यालयहरूमा गरिएको तोडफोड र आगजनीलाई उहाँले ‘देशघाती र सुनियोजित षड्यन्त्र’ को संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीभित्रका जायज असन्तुष्टि र फरक धारणाहरू नै नेपाली काँग्रेसलाई जीवन्त राख्ने ऊर्जा हुन् । त्यसैले गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गर्नुपर्छ । नेताहरूको आदर्शलाई स्मरण गरेर मात्र पुग्दैन; उहाँहरूले सिकाउनुभएको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्दै पार्टीभित्र व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आजैदेखि शुरु गर्नु आवश्यक छ । पार्टीको वृहत्तर एकतालाई व्यवहारमा संस्थागत गर्दै एकढिक्का भएर अघि बढ्नु नै यस भेलाको मुख्य उद्देश्य हो ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षा गर्दै संकटमा रहेको नेपाली कांग्रेसलाई एकढिक्का बनाउनु आजको प्रमुख आवश्यकता हो । कुनैपनि राजनीतिक दलको जीवन्तता उसको आदर्श, सिद्धान्त र विचारलाई जनतासम्म पु¥याउने गतिशील संगठनमा निर्भर हुन्छ ।
काँग्रेसले स्थापना कालदेखि नै विचार र संगठनको बलमा मुलुकका राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । तर अहिले पार्टीको गौरवमय विरासत र वर्तमान सांगठनिक अवस्थाबीच ठूलो खाडल देखिएको छ । केन्द्रदेखि वडा तहसम्म गुटबन्दी, भागबन्डा, तदर्थवाद र आन्तरिक द्वन्द्व देखिनु चिन्ताको विषय हो ।’
उहाँले वीपी कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक नेताहरूको निवास तथा सालिकहरूमाथि गरिएको तोडफोडलाई लोकतन्त्रमाथिको प्रहार र काँग्रेसको इतिहास मेटाउने दुष्प्रयास भएको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्