Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


‘देशकाे राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैन’: पूर्वउपसभापति खड्का

देउवाको नेतृत्वमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान भेलाले संकल्प गर्ने विश्वास

208
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता वर्तमान समयमा गम्भीर संकटमा रहेको बताउनुभएकाे छ।

काठमाडाैंमा शुक्रबार कांग्रेसको इतर समूहकाे राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गर्नुभएकाे हाे। पूर्वउपसभापति खड्काले २०३३ सालमा जननायक वीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौं गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनुभयाे।

देशमा हालै देखिएका जातीय र धार्मिक द्वन्द्वका घटनाहरूप्रति संकेत गर्दै पूर्वउपसभापति खड्काले यसलाई एउटा डरलाग्दो भविष्यको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गर्नुभएकाे छ। मधेशमा देखिएका पछिल्ला अस्थिरताहरूले देशलाई तरंगित बनाएको उल्लेख गर्दै उहाँले बेलैमा सचेत नभए मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने चेतावनी दिनुभयाे।

पार्टीको आन्तरिक राजनीतिका सन्दर्भमा बोल्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान भेलाले संकल्प गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ। विशेष महाधिवेश वा अन्य कुनै नाममा पार्टीभित्र गरिने अवैधानिक गतिविधिहरूले संगठनलाई अहित गर्ने बताउनुभयाे।

पूर्वउपसभापति खड्काले नेतृत्वलाई सच्याउन र एकताको बाटोमा फर्कन दबाब दिनुपर्नेमा जोड दिनुभएकाे छ।

Skip This