Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जाेड

आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्नेगरी बलियो कानून निर्माण गरिने प्रतिवद्धता

0
Shares

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०-३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ।

काठमाडाैंमा शुक्रबार नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्ताे जाेड दिनुभएकाे हाे। मुलुकको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीब्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनुभयो । विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ ।

विगतका कमजोरीहरूका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै सभामुख अर्यालले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक हितमा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभएकाे छ। पर्यटन पूर्वाधारको प्रसङ्गमा अर्यालले व्यवस्थित ‘टुरिस्ट बस पार्क’को आवश्यकता औंल्याउनुभयो । हवाई यात्राका लागि विमानस्थल जानुपर्ने नियम जस्तै पर्यटकीय सवारीका लागि पनि तोकिएकै बस पार्क हुनुपर्ने उहाँको तर्क छ ।

सभामुख अर्यालले आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्नेगरी बलियो कानून निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।