Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


कांग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा

गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने दावी

52
Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गर्नुभएको हो । उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभएकाे छ।

पार्टीका नेता तथा कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै उपसभापति शर्माले व्यक्ति भन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताउनुभयो । गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थिति बारे चर्चा गर्दै उहााले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताउनुभएकाे छ । उहाँले अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताउनुभएकाे छ। राजनीतिक विषयहरू मूलतः राजनीतिक ढंगले नै हल हुने भए पनि कहिलेकाहीँ कानूनी निरूपण आवश्यक हुने र ती सबै प्रक्रियालाई पार्टीको विधान, संविधान र इतिहासको निरन्तरताको जगमा सम्बोधन गरिने उहाँले बताउनुभयाे ।