Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


सुनकोसीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला, श्रीमानकाे खोजी जारी


0
Shares

काठमाडाैं । गत साउन २० गते काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोसी नदीमा हेलिएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोसी नदीमा फेला परेको प्रहरीले जनाएको छ। उनीसँगै नदीमा बेपत्ता भएका उनका ६८ वर्षीय पति केदारनाथ पराजुलीको भने खोजी कार्य जारी छ।

प्रहरीका अनुसार बुधबार साँझ दम्पती दुलालेश्वर महादेव मन्दिर छेउबाट सुनकोसी नदीमा हाम फालेका थिए। तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित हुनुका साथै अपाङ्ग थिइन् भने केदारनाथलाई प्रोस्टेटसम्बन्धी समस्या रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार बेपत्ता केदारनाथको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरसहित र्‍याफ्टिङ टोली परिचालन गरिएको छ।

सीसीटीभी फुटेजमा केदारनाथले तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटतर्फ गएको देखिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार दोलालघाट पुगेपछि उनले श्रीमतीलाई बोकेरै सुनकोसी नदीमा हाम फालेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै बेपत्ता केदारनाथको खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।